भोजपुर , भाद्र १३ - सातायता फैलिएको ज्वरोले अधिकांश गाउँका बासिन्दा प्रभावित छन्। स्वास्थ्य संस्थामा झाडापखाला, आउँ, रुघाखोकी, टाइफाइड, निमोनियाँ र मेनेन्जाइटिस पीडितको चाप बढेको छ।
बिरामीमा घाँटी दुख्ने, कडा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने लक्षण देखा परेको छ। जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दिङ्ला, घोडेटार, प्याउली, इलाका स्वास्थ्य केन्द्र याकु, कुलुङ, दोभानेलगायत स्वास्थ्य संस्थामा भाइरलका बिरामी आउने गरेको जिल्ला स्वास्थ्यले जनाएको छ।
जिल्ला अस्पतालमा दैनिक डेढ सयसम्म, प्राथमिक स्वास्थ्य केन्द्र दिङ्लामा सय जना बिरामी पुग्ने गरेका छन्। जनस्वास्थ्य निरीक्षक विनोद मिश्रका अनुसार भदौ लागेपछि मात्रै हजारभन्दा बढी बिरामी स्वास्थ्य संस्थामा आएको बताए।
मूलपानी, केउरेनीपानी, तुङ्गेछा, नेपालेडाँडा, चौकीडाँडा, कुलुङ, खाटाम्मा, याकु, घोडेटारलगायत विभिन्न गाविसमा प्रकोप बढेको कार्यालयले जनाएको छ। भाइरलले ८ वर्षको बच्चादेखि ५० वर्षसम्मका प्रभावित बनेको मिश्रले बताए।
No comments:
Post a Comment